ब्लग कसरी सुरु गर्ने ?



ब्लग भन्नाले त्यस्ता वेबसाइट बुझिन्छ, जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लगअहिले विश्वमै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लगको समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्ना स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमका रूपमा विकसित भएको छ ।
नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने यकिन इतिहास छैन । तर, २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमका रूपमा ब्लग देखिएको हो ।अहिले करिब ५ सयको हाराहारीमा नेपाली ब्लगहरू सञ्चालनमा रहेको पाइन्छ । यो तथ्याङ्क नेपाली ब्लगहरूको सङ्ग्रह bloggers.com.np मा हेर्न सकिन्छ ।
सामान्यतया: लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्छन् । भिडियोसम्बन्धी ब्लगलाई भि­लग भन्ने गरिन्छ । त्यस्तै फोटोहरू राखिने फोटो­ब्लग पनि प्रचलित छन् । अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रविधिको विकास भइसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ । विषयवस्तुको हिसाबले पनि विभिन्न प्रकारका ब्लगहरू हुने गर्दछन्, जस्तै राजनीतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग आदि । यी सबै ब्लगहरू खोज्न technorati.com नामक सर्च इन्जिन को पनि विकास गरिएको छ ।
Wordpress-vs-Blogger
ब्लगको यति जानकारीपछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौं । ब्लग लेख्न सुरु गर्नुभन्दा पहिले आफू कुन विषयवस्तुमा ब्लग लेख्ने भन्नेबारे निर्णय गर्नु राम्रो हुन्छ । कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो, त्यही लेख्ने गर्छन् । कसैले कुनै निश्चित विषयमा ब्लग लेख्ने गर्छन् । धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेलाबेलामा विषय परिवर्तन गर्ने गर्छन् । ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरी राखिने हुनाले आफूलाई जे मन लाग्यो, त्यही लेख्नुभन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ ।
केको बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ । ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ । यदि तपाईंको आफ्नै वेबसाइट छ भने त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ । WordPress, Movable Type  र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरी प्रयोग गर्न पाइन्छ । तर, सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका blogger.com र wordpress.com  जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ । यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लगसाइट निर्माण गर्न सकिन्छ ।
यी ब्लग साइटहरूमध्ये WordPress.com सजिलो तथा निकै प्रख्यात पनि छ | Wordpress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नुपर्छ । यसरी नयाँ account सुरु गर्दा तपाईंले आफ्नो ब्लगको शीर्षक पनि दिनुपर्ने हुन्छ । account बनिसकेपछि तपाईंले ब्लग लेख्न सुरु गर्न सक्नुहुन्छ । त्यस्तै अर्को ब्लग साइट blogger.com पनि अचेल निकै प्रचलित हुँदै गएको छ । blogger.com फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाईंसँग Gmail  ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नुहुन्छ ।
कुनै पनि ब्लगलाई डिजाइनिङ र त्यसलाई सम्पादितजस्ता कामहरू गर्न ब्लगिङअन्तर्गत पर्दछ । ब्लगिङ शब्द वेब र ब्लगको कम्बिनेसनबाट बनेको हो । ७ डिसेम्बर १९९७ मा डेब वाइनरले स्त्रिलप्टिङ न्युज नामक वेबसाइटबाट सुरु गरेको व्लगिङको अवधारणा अहिले व्यापक बन्दै गइरहेको छ । ब्लग एउटा यस्तो माध्यम बनेको छ, जसमा मानिस आफ्नो लेख्ने शौख पूरा गर्न सक्छन्, जसमा अरुले चाहेअनुसार त्यसलाई सुधार गरेर लेख्न पनि सकिन्छ । त्यसलाई मेटाउन र कमेन्ट गर्न पनि सकिन्छ । त्यस्तै ब्लग तपाईं wikia बाट पनि बनाउन सक्नुहुन्छ । www.wikia.org मा  गएर पनि ब्लग सुरु गर्न सक्नुहुन्छ । यसको ब्लगिङ wordpress/blogger.com  भन्दा केही फरक छ ।
यदि तपाईं पनि आफ्नो प्रसिद्धि कमाउन ब्लगको प्रयोग गर्न चाहनुहुन्छ भने विभिन्न वेबसाइट लगअन गरेर पढ्न सक्नुहुन्छ www.socilgo.comwww.blogadda.comwww.internetevolution.com
त्यस्तै तपार्इंलाई भिडियो ब्लगिङतर्फ रुचि छ भने विभिन्न वेबसाइटमा गएर भिडियो अपलोड गर्न सक्नहुन्छ । यस्ता वेबसाइटमा राख्नुभएको भिडियो विश्वका करोडौं मानिसले हेर्नेछन्, जसले जीवनमा अघि बढाउन पनि सहयोग गर्दछ । त्यस्ता वेबसाइटहरूमा
www.youtube.comwww.myspace.comwww.screenwritingexpo.comwww.zoetrope.comwww.filmmaker.com आदि हुन् ।
ब्लग अहिले आफ्नो आवाज सर्वसाधारणसम्म पुर्‍याउन सबैभन्दा छिटो तथा सशक्त माध्यम भएको छ । आफूलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ । ब्लगको अझ रमाइलो कुरा के छ भने आफूले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ । अझ धेरैले  Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन् । यति धेरै रमाइलो ब्लगिङको दुनियाँमा आजै किन नछिर्ने त ?
Click Here for Google Adsense:  http://www.uitnepal.com/adsense.php

Post a Comment

Previous Post Next Post