मेरो मनको तर्कना…

  • Aruna Chhantyal
हिजो दानिएल ४ पढेपछि राति अबेरसम्म मनमा कुरा खेल्यो | राजा नबुकद्नेसरजस्तो तानाशाही र पापीलाई परमेश्वरले कस्तरी दर्शन दिनुभयो अनि ती सब साँच्चै भोगेर उसले अन्तमा कस्तरी स्वर्गका महान राजालाई महिमा दियो है ? मैले सोंचें, यस्तैगरी हाम्रा देशका नेताहरुलाई पनि परमेश्वरले अनौठा सपना दिए नि हुने…के उनीहरुलाई परमेश्वरको महिमा व्यक्त गरी सपनाको अर्थ खुलाउने दानिएल वा युसुफजस्ता व्यक्ति हामीकहाँ छैनन् र ? पक्कै छन्, किन नहुने ! धेरैचोटी प्रार्थना गर्दा बिन्ति गर्छु-‘प्रभु ! यो देशमा पनि युसुफजस्तै तपाईको परमभक्त शासक खडा गर्नुस्…(मलाई ‘दाउदजस्तै’ चाहिं भन्न मन लाग्दैन है किनकि बीचमा व्यभिचारको पाप गरेर दाउदले देशमा ठूलै संकट ल्यायो, प्रभुको जनबाट अब नेपालमा पनि त्यस्तो नहोस् भन्ने मेरो चाह हो) हामी प्रार्थनामा भन्छौं-‘प्रभु ! तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्…|’ तसर्थ, हामी नेपाल पनि गरिबी, बेरोजगारी र भ्रष्टाचारबाट मुक्त होस् भन्ने चाहन्छौं, युरोप अमेरिकाजस्तै | इतिहास पल्टाउँदा दक्षिण कोरिया नेपालजस्तै गरिब थियो रे तर त्यहाँ द्रुत गतिमा सुसमाचार फैलिएर नेतृत्वका हरेक तह र तप्कामा विश्वासी नै पुगेकाले देशमा आमूल परिवर्तन आयो र त्यसैले आज दक्षिण कोरिया एक समृद्धशाली राष्ट्र बन्न पुगेको छ | यो कुरा थाहा पाउँदा नेपाललाई समृद्धशाली बनाउने हो भने पहिले सुसमाचारको बिऊ नेपालभरी छरिएर हुर्कनुपर्छ भन्ने लाग्यो, त्यसैले सुसमाचार नेपालभरी फैलियोस् भन्ने कामना गर्दैछु | देशमा विश्वासी बढ्नु भनेको बेइमानको तुलनामा इमानले शिर ठाडो गर्न पाउनु हो जहाँ परमेश्वरको डर हरेकको दिल-दिलमा हुन्छ र त्यसैले भ्रष्टाचार गर्दा हरेकको दिल थर्थराउँछ | तसर्थ, हाम्रो देश त्यस्तो होस्, आमेन !
नेपालका हड्बड़े नेताहरु, त्यो के जाति भन्छन्र्, मधेशी मोर्चा, इन्डियाको मोदी रे, अहिले देशले नाकाबन्दीको सास्ती भोग्नुपरेपछि धेरै आक्रामक नेपालीले तिनीहरुलाई सत्तोसराप गर्दैछन् | सत्तोसराप किन ? लौन प्रभु ! तिनीहरुलाई ज्ञान-बुद्धि देऊ भन्छु, भन्दै छु तर प्रार्थनाको उत्तर पाउन ढिलासुस्ती भएको कारण झट्ट सम्झन्छु दानिएल ४ | के मोदी र मधेसी आन्दोलनकारीलाई पनि नबुकद्नेसरलाइ सुधारेझें सुधारे हुन्न र प्रभु ?
अर्कोतर्फ हामी विश्वासीहरुलाई गाइ खाने धर्म मान्ने वा विदेशीको सिको गर्ने राष्ट्रघाती भनेर खेदो गर्ने जमात छन् | तिनीहरुको सद्बुद्धिको लागि पनि प्रार्थना गरिन्छ तर यो प्रार्थनाको उत्तर आउन पनि ढिलासुस्ती भएकै कारण फरि टक्क अडिइन्छ र घोत्लिइन्छ प्रेरित ९ अध्यायमा | शाउललाई ज्योतिर्मय दर्शनसाथ आवाज दिई चेताउनको लागि केही दिनको अन्धकारमा बसाएजस्तै ती खेदो गर्नेहरुलाई पनि प्रभुले त्यस्तै गरे हुन्न ? सबैलाइ नगरे पनि नेतृत्व तहको मान्छेलाई गरे हुने किनकि कोही-कोही त खेदो गर्नेहरु हुनैपर्छ किनकि सतावट त हामीलाई अपरिहार्य छ |
हो, मेरो मूली कुरो भनेको नबुकद्नेसर र शाउलको जीवन परिवर्तन भएझैं परमेश्वरकै बाहुलीबाट नेपालका हुल्याहा-फटाहा नेताहरु परिवर्तन होउन्, अनि बल्ल नेपाल पनि कोरियाझैं जुर्मुराउनेछ | मित्रजन हो ! त्यसैले यही विषयमा जोडदार प्रार्थना गरौँ है ?

Post a Comment

Previous Post Next Post